दफा ८९
सञ्चालकको पदमा नियुक्त हुन वा बहाल रहन नसक्ने अवस्था
: (१) देहायका कुनै व्यक्ति सञ्चालकको पदमा नियुक्त हुन सक्ने छैन ः- (क) पब्लिक कम्पनीको हकमा एक्काइस वर्ष उमेर नपुगेको,
(ख) मगज बिग्रेको वा बहुलाएको,
(ग) दामासाहीमा परी पाँच वर्षको अवधि पुरा नभएको,
(घ) भ्रष्टाचार वा नैतिक पतन देखिने अन्य कसूरमा सजाय पाएको,
तर प्राइभेट कम्पनी भए त्यस्तो सजाय भुक्तान भएको मितिले तीन वर्ष पुरा नभएको,
(ङ) कुनै प्रकारको चोरी, ठगी, कीर्ते वा आफ्नोजिम्माको धनमाल अनधिकृत तवरले मासेको वा दुरुपयोग गरेको अभियोगमा कसूरदार ठहरी सजाय भुक्तान भएको तीन वर्ष पुरा नभएको,
(च) सम्बन्धित कम्पनीको व्यवसाय वा कुनै ठेक्का पट्टा वा कारोबारमा कुनै प्रकारको निजी स्वार्थ भएको,
(छ) समान उद्देश्य भएको अर्को कुनै कम्पनीको सञ्चालक, आधारभूत शेयरधनी, कर्मचारी, लेखापरीक्षक वा सल्लाहकार पदमा बहाल रहेको वा त्यस्तो कम्पनीमा कुनै पनि प्रकारको निजी स्वार्थ भएको, तर,-

(१) एउटा प्राइभेट कम्पनीको त्यस्तो व्यक्ति समान उद्देश्य भएको अर्को प्राइभेट कम्पनीमा सञ्चालक हुन सक्नेछ।

(२) मुख्य कम्पनीको .त्यस्तो व्यक्ति सहायक कम्पनी वा सहायक कम्पनीको त्यस्तो व्यक्ति मुख्य कम्पनीमा सञ्चालक हुन सक्नेछ।

(३) पब्लिक कम्पनीमध्ये बैङ्क, वित्तीय तथा बीमा क्षेत्रसँग सम्बन्धित पब्लिक कम्पनी बाहेक एउटा पब्लिक कम्पनीको त्यस्तो व्यक्ति समान उद्देश्य भएको अर्को पब्लिक कम्पनीमा सञ्चालक हुन सक्नेछ।
(ज) सम्बन्धित कम्पनीलाई रकम बुझाउन बाँकी रहेको ठहर भएको अवस्थामा त्यस्तो शेयरधनी,
(झ) दफा १६० बमोजिम सजाय पाएको व्यक्तिको हकमा सजाय पाएको मितिले एक वर्ष ननाघेको वा दफा १६१ बमोजिम सजाय पाएको व्यक्तिको हकमा सजाय पाएको मितिलेछ महिना ननाघेको,
(ञ) कुनै खास व्यवसाय सञ्चालन गर्ने कम्पनीको हकमा प्रचलित कानूनले कुनै योग्यता तोकेको भए त्यस्तो योग्यता नपुगेको वा कुनै अयोग्यता तोकिएको रहेछ भने त्यस्तो अयोग्यता भएको,
(ट) लगातार तीन आर्थिक वर्षसम्म यस ऐन अनुसार कार्यालयमा पेश गर्नुपर्ने विवरण तथा प्रतिवेदनहरु पेश नगर्ने कुनै कम्पनीको सञ्चालक रहेको,
(ट१) दफा ८१ को उपदफा (२) बमोजिम जरिबाना रकम तिर्न बाँकी रहेको,
(ठ) अर्को कुनै सूचीकृत कम्पनीबाट बैठक भत्ता र बैठक स्थलमा आउन, जान, बस्नका लागि लाग्ने वास्तविक खर्च बाहेक अन्य पारिश्रमिक वा कुनै सुविधा प्राप्त गर्ने सञ्चालकको पदमा बहाल रहेको।
(२) देहायको कुनै व्यक्ति स्वतन्त्र सञ्चालकको पदमा नियुक्त हुन सक्ने छैन ः-
(क) उपदफा (१) मा लेखिए बमोजिमको व्यक्ति,
(ख) सम्बन्धित कम्पनीको शेयरधनी,
(ग) सम्बन्धित कम्पनीले कारोबार गर्ने विषयसँग सम्बन्धित विषयमा कम्तीमा स्नातकोपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा वा कम्पनी व्यवस्थापन सम्बन्धी काममा कम्तीमा दश वर्षको अनुभवप्राप्त वा अर्थ, वित्त, व्यवस्थापन, लेखा, तथ्याड्ढ, वाणिज्य, व्यापार प्रशासन वा कानून विषयमा कम्तीमा स्नातकोपाधि प्राप्त गरी सम्बन्धित क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव प्राप्त नगरेको,
(घ) सम्बन्धित कम्पनीको पदाधिकारी, लेखापरीक्षक, कर्मचारी वा त्यस्तो कुनै पदबाट अवकाश प्राप्त गरेको तीन वर्ष पुरा नभएको,
(ङ) सम्बन्धित कम्पनीको पदाधिकारीको नजिकको नातेदार,
(च) सम्बन्धित कम्पनीको लेखापरीक्षक वा निजको साझेदार ।
(३) देहायको अवस्थामा कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहने छैन ः-
(क) उपदफा (१) वा (२) मा लेखिए बमोजिम सञ्चालकको पदमा नियुक्त हुन नसक्ने अवस्था भएमा,
(ख) साधारण सभाले सञ्चालकको पदबाट हटाउने प्रस्ताव पारित गरेमा,
(ग) सञ्चालकले आफ्नो पदबाट दिएको राजीनामा सञ्चालक समितिबाट स्वीकृत भएमा,
(घ) कम्पनीको काम कारबाहीमा बेइमानी वा बदनियत गरेको कुरा अदालतबाट ठहर भएमा,
(ङ) यस ऐन बमोजिम सञ्चालकले गर्न नहुने भनी तोकिएको कुनै कार्य गरेको वा गर्नु पर्ने भनी तोकिएको कार्य नगरेको भनी अदालतबाट ठहर भएमा,
(च) प्रचलित कानून बमोजिम बैंक वा वित्तीय संस्थाको ऋण नतिरी अधिकारप्राप्त निकायले कालो सूचीमा राखी कालो सूचीको अवधि कायम रहेको भएमा ।
(४) कुनै व्यक्तिलाई सञ्चालकको पदमा नियुक्त हुन वा बहाल रहन अयोग्य ठहर्याउनु अघि कम्पनीले निजलाई सो कुराको सूचना दिई सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ ।